मर्स्याङ्दी गाउँपालिकामा प्लास्टिकका भाँडा प्रतिबन्ध
पोखरा
वातावरण र स्वास्थ्य दुवैलाई असर गर्ने प्लास्टिकका भाँडा प्रयोग गर्न लमजुङको मर्स्याङ्दी गाउँपालिकाले प्रतिबन्ध लगाएको छ ।
अब गाउँपालिकाको कुनै पनि सार्वजनिक तथा व्यक्तिगत कार्यमा प्लास्टिकका प्लेट, गिलास तथा चम्चा प्रयोग गर्न पाइने छैन ।गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जेठ २५ गते बसेको कार्यपालिका बैठकको निर्णयअनुसार प्लास्टिकका सामग्री प्रयोगमा पूर्णरुपमा प्रतिबन्ध लगाएको जानकारी दिए । निर्णय कार्यान्वयन गर्न पालिकाले जेठ ३२ गते बिहीबार सार्वजनिक सूचना जारी गरेको छ । ‘हामी सफा मर्स्याङ्दी अभियानमा छौं ।
यो अभियानलाई सार्थक बनाउन प्लास्टिकका भाँडाकुँडाका सट्टा दुनाटपरीलाई प्रयोग गर्न सक्छौं । स्टिलका भाँडाहरु प्रयोग गर्न सक्छौं,’ उनले भने । उनले सिंगो गाउँपालिकालाई सफा बनाउने अभियानमा जुटेको बताए । गाउँपालिकाले यसअघि सार्वजनिक तथा सरकारी कार्यक्रममा खादालाई पनि प्रतिबन्ध लगाएको थियो । हाल कार्यान्वयनमा रहेको यो कार्यले गाउँपालिकालाई सफा बनाउने अभियानमा सहयोग गरेको अध्यक्ष गुरुङले बताए । उनका अनुसार धार्मिक तथा व्यक्तिगत कार्यक्रममा भने यसलाई रोक लगाइएको छैन । खादाको सट्टा फूलमाला प्रयोगमा जोड दिइएको उनले बताए ।
‘प्लास्टिक र प्लास्टिकजन्य पदार्थले माटो र वातावरणलाई नकारात्मक असर गर्छ । मानव शरीरलाई पनि कुनै न कुनै हिसाबले असर गर्छ । यसबाट हामी बचौं र वातावरणलाई बचाऔं भन्ने हो,’ उनले भने । प्लास्टिकको सट्टा प्रयोग हुने दुनाटपरी र खादाको सट्टा प्रयोग हुने फूलले स्थानीयको आम्दानीसमेत बढाउने उनले बताए । गाउँपालिकाले सबै गाउँ, टोल, बस्ती, बाटोघाटो सरसफाईलाई तीव्रता दिएको उपाध्यक्ष जुनामाया थापले बताइन् । उनका अनुसार गाउँपालिका आफैंले फोहोर संकलन र वर्गीकरण गरिरहेको छ । गाउँबस्तीमा पुगेर ट्र्याक्टरबाट फोहोर संकलन गरी कुहिने र नकुहिने छुट्याएर व्यवस्थापन गर्ने गरिएको उपाध्यक्ष थापाले बताइन् । गाउँपालिकाले अघिल्लो कार्यकालको २०७६ असोजदेखि फोहोर संकलन अभियान सञ्चालन गरेर जथाभावी फोहर फाल्न प्रतिबन्ध लगाएको थियो ।
मर्स्याङ्दी नदीलाई सफा राख्न अभियान सुरु गरेकोमा अहिले गाउँपालिकालाई नै सफा बनाउने अभियान मर्स्याङ्दीले सञ्चालन गरेको हो । गाउँपालिका स्वास्थ्य शाखाप्रमुख लुलबहादुर घलेका अनुसार सफा मर्स्याङ्दी अभियानले फोहरबाट हुने र सर्ने रोग नियन्त्रणमा सहयोग पुग्ने दाबी गरे । ‘धेरै रोगहरु फोहरमैलाबाट संक्रमण हुने गर्छ । हरेक ठाउँ, हरेक क्षेत्र सफा भएपछि रोग अवश्य नै कम लाग्छ,’ उनले भने ।प्रमुख प्रशासकीय अधिकृत ताराबहादुर तामाङका अनुसार जथाभावी फोहर फाल्न नदिन गाउँपालिकाले हरेक टोलबस्तीमा डस्टवीनको व्यवस्था गरेको छ । गाउँले आफैंले फोहरलाई कुहिने र नकुहिने गरी वर्गीकरण गर्ने गरेका छन् । गाउँको फोहर लिन क्यालेन्डरअनुसार ट्र्याक्टर गाउँमै पुग्छ । ‘सकेसम्म फोहर नगर्ने र घरगाउँमा निस्किएको फोहरलाई गाउँमै व्यवस्थापन पनि गर्ने गरेका छन् । नकुहिने फोहरलाई गाउँमा व्यवस्थापन गर्न दिइएको छैन,’ उनले भने, ‘नकुहिनेलाई पनि हामीले पुनः वर्गीकरण गरेर व्यवस्थापन गर्ने गरेका छौं ।’