तनहुँमा पहिरोले पुरिएर एकको मृत्यु, २ जना घाइते
पोखरा
तनहुँको म्याग्दे गाउँपालिका–१ माथिल्लो गुणादीमा सोमबार साँझ पहिरोले पुरिएर एकको मृत्यु भएको छ । पहिरोमा पुरिएर अन्य २ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा जिल्ला झापा शिवशताक्षी नगरपालिका–७ का ३३ वर्षीय भीम भुजेल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । साँझ ४ बजेदेखि परेको वर्षाका कारण काम गरिरहेका मजदुर घाइते भएको प्रहरीले जनाएको छ ।
मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत सडक छेउमा पर्खाल लगाउने क्रममा ढिस्को खसेर ३ जना घाइते भएका जिल्ला प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले बताए । उनले भने, ‘उनीहरूलाई तत्कालै उद्धार गरी उपचारका लागि पठाइएकोमा एक जनाको उपचारका क्रममा मृत्यु भएको छ ।’ यस्तै, शिवशताक्षी–७ कै ४५ वर्षीय कृष्ण लिङ्देनको रत्नहरि अस्पताल दमौलीमा उपचार भइरहेको छ भने उदयपुरको कटारी नगरपालिका–७ का ४० वर्षीय बलबहादुर राईलाई दमौली अस्पतालमा प्रारम्भिक उपचारपश्चात थप उपचारका लागि पोखरा रिफर गरिएको छ ।