एक वर्षको अवधिमा लमजुङमा सवारी दुर्घटनामा परी १७ जनाको मृत्यु
पोखरा
लमजुङमा एक वर्षको अवधिमा सवारी दुर्घटनामा परेर १७ जनाको ज्यान गएको छ ।
आर्थिक वर्ष ०७८–०७९ मा जिल्लामा विभिन्न स्थानमा भएको २२ सवारी दुर्घटनामा परी १७ जनाको ज्यान गएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङका अनुसार ०७८ साउनदेखि ०७९ असार मसान्तसम्ममा भएका सवारी दुर्घटनामा ८ जना गम्भिर घाइते र १७ जना समान्य घाइते भएका थिए । गएको आर्थिक वर्षमा दुर्घटनामा परेका सवारीमध्ये सवै भन्दा धेरै मोटरसाइकल रहेका छन् ।
सो अवधिमा जिल्लामा १० वटा ट्याक्टर दुर्घटनामा परेका थिए । यस्तै, अन्य सवारी साधनहरुमा ट्रयाक्टर ६ वटा, ट्रक र जिप दुई–दुई वटा, बस र अन्य सवारी साधान एक र एकवटा दुर्घटना भएको ट्राफिक कार्यालयका प्रहरी सहायक हवल्दार सुभाष रानाभाटले बताए ।
सवारी दुर्घटना सम्वन्धि कार्यालयको तथ्यांकअनुसार विगत ४ वर्षमा गत वर्ष सबैभन्दा धेरै सवारी दुर्घटनामा परि मानिसले ज्यान गुमाएका छन् । जिल्लामा आर्थिक वर्ष ०७५÷०७६ मा १४ सवारी दुर्घटनामा हुँदा ९ जनाको मृत्यु भएको थियो ।
आर्थिक वर्ष ०७६–०७७ मा जिल्लामा १३ सवारी दुर्घटनाहरु भएका थिए । ति दुर्घटनामा परेर ८ जनाको ज्यान गएको थियो । यसैगरी अघिल्लो आर्थिक वर्ष ०७७–०७८ मा २१ सवारी दुर्घटनाहरु भएका थिए भने ती दुर्घटनामा परि ११ जनाको ज्यान गएको ट्राफिक प्रहरीको तथ्यांक छ ।