बेनी–बागलुङ सडक पाँच दिनपछि सञ्चालन
पोखरा
म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–बागलुङ सडक पाँच दिनपछि सञ्चालन भएको छ । बेनी नगरपालिका–२ हाँडेभिरमा गत शुक्रबार खसेको पहिरो पन्छाएर आज साँझदेखि यातायात सञ्चालन गरिएको पूर्वाधार विकास कार्यालय म्याग्दीले जनाएको छ ।
पूर्वाधार विकास कार्यालयले उपकरण परिचालन गरेर सडक मर्मत गरेको हो । हाँडेभिरमा हालै विस्तार गरेर ढलान गरिएको सडक पहिरो खसेर पुरिएपछि बागलुङ तर्फबाट बेनी आउने सवारी साधनहरु खबरामै रोकिने गरेका थिए । बेनीबाट बाग्लुङ जान आउन बेनी–मालढुङ्गाको घुमाउरो सडक प्रयोग गर्नुपर्ने समस्या थियो ।
बागलुङ बेनी सडक बन्द भएपछि निर्माणाधीन बेनी–मालढुङ्गा सडकमा नियमित यातायात सञ्चालनको व्यवस्था मिलाइएको थियो । बेनी–मालढुङ्गा सडक निर्माणलाई तीव्रता दिन म्याग्दी र मुस्ताङ जाने आउने सवारी साधनहरुलाई बागलुङ भएर सञ्चालन गरिएको थियो ।