पोखराको हेम्जामा स्कुटर दुर्घटना हुँदा बुवाको मृत्यु, छोरी घाइते
पोखरा
पोखरा हेम्जामा स्कुटर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
नौडाँडाबाट पोखरातर्फ आउँदै गरेको ग २२ प ५३७० नम्बरको स्कुटर गएराति ८ बजे पोखरा महानगरपालिका २५ हेम्जा, हनुमानटोलमा सडकको डिभाइडरमा ठोक्किँदा उक्त दुर्घटना भएको हो । दुर्घटनामा स्कुटर चालक ५० वर्षीय बलबहादुर राईको मृत्यु भएको छ । मृत्यु हुने राई तनहुँको व्यास नगरपालिका १, दमौलीका स्थानीय हुन् ।
स्कुटरको पछाडी सवार राईकी १५ वर्षीया छोरी सोनी घाइते भएकी छन् । दुर्घटनामा घाइते दुवैलाई उपचारको निम्ति फिस्टेल अस्पताल लगिएको थियो । चालक राईको उपचारकै क्रममा मृत्यु भएको हो । सोनीको सोही अस्पतालमा उपचार भइरहेको छ ।